चिलिमेको सुरुङमा १०५ मिटरभित्र पुग्यो नेपाली–भारतीय सेना
काठमाडौं : भदौ १० गतेको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र बनाएको छ । बाढीका कारण क्षतिग्रस्त आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने काममा उल्लेखनीय प्रगति भएको नेपाली सेनाले जनाएको छ । वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको छ ।
बाढी आएको दिन भदौ १० गते नै नेपाली सेनाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक रेकी गरेको थियो । त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो । भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन् । संयुक्त टोली सुरुङभित्र करिब १०५ मिटरसम्म प्रवेश गरिसकेको छ ।
सुरुङभित्र जमेको दलदल र अन्य अवरोध हटाउँदै उद्धार कार्यलाई तीव्र बनाउन बबक्याट एस्काभेटरसहित आयोजनास्थलमा उपलब्ध अर्को एस्काभेटरसमेत प्रयोग गरिएको छ । उपकरणको सहायताले दलदल पन्छाउने तथा उत्खनन गर्ने काम निरन्तर भइरहेको सेनाले जनाएको छ । बाढीबाट प्रभावित आयोजनाको पहुँच मार्ग खुलाउने तथा सुरुङभित्र खोजी कार्यलाई प्राथमिकतामा राखेर उद्धार टोलीले काम गरिरहेको छ ।
.gif)

.png)

