केपी शर्मा ओलीको निर्देशन : हरेक बुथमा ३० जना भोलेन्टियर फोर्स बनाउनू
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै हरेक बुथमा कम्तीमा ३० जना स्वयंसेवक परिचालन गर्ने तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
सोमबार झापामा आयोजित कोसी प्रदेशस्तरीय भेलामा उनले बुथ सुरक्षाका लागि पार्टीको तर्फबाट नेशनल भोलेन्टियर्स फोर्स गठन गर्नुपर्ने बताए । गाउँ-टोलस्तरमै सुरक्षा समिति गठन गरी संगठित ढंगले अघि बढ्न उनले आग्रह गरे ।
'गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरू बनाउनुहोस् । र, नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस्,' ओलीले भने, 'चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तिमा निर्माण गर्नुहोस् । र, त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढनुहोस् ।'
निर्वाचनका क्रममा मत सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तहमा गठन गरिने भोलेन्टियर्स फोर्स पार्टीको निर्णय र निर्देशनअनुसार परिचालित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
'स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन । आफ्नै ढंगले जनसंगठनलाई चल्न दिनुपर्दछ । तर, भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरू, निर्देशनहरूसँग टकराएर काम गर्दैन,' ओलीले भने ।
देशको सुरक्षामा सहयोग पुग्ने उद्देश्यले पार्टीले यस्तो संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उनले दाबी गरे।
.gif)

.png)

