महाधिवेशन रोक्न निर्वाचन आयोग र कांग्रेस कार्यालयलाई शशांकको पत्र
अन्तिम फैसला नआएसम्म कांग्रेसका दीर्घकालीन निर्णय रोक्न माग
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाएका हुन्।
कांग्रेस नेता दीपक खड्काका अनुसार सर्वोच्च अदालतले दिएको पुनरावलोकनको निस्सा (मुद्दा पुनः सुनुवाइ गर्न अनुमति) लाई आधार बनाएर महाधिवेशनसम्बन्धी गतिविधि स्थगित गर्न आग्रह गरिएको हो। ‘अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न आयोग र पार्टी कार्यालयलाई अनुरोध गर्दै डा. शशांकले चिठी पठाउनुभएको हो,’ खड्काले भने।
इतर समूहले पठाएको पत्रमा कांग्रेसको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ।
त्यस्तै, सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म पार्टीले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगर्न समेत आग्रह गरिएको छ। पत्रमा भनिएको छ, ‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरूपमा यथास्थितिमा राखियोस्।’
सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म कांग्रेसको सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्न तथा अदालतको गरिमा र कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्न पनि इतर समूहले आग्रह गरेको छ।
सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। सर्वोच्चको उक्त आदेशपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइ हुने भएको छ।
.gif)

.png)

