धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल
काठमाडौं : सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई उच्च संयमता अपनाउन, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र कुनै पनि किसिमका भ्रामक सूचना नफैलाउन आग्रह गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा सरकारले घटनामा घाइते भएका सबैको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत घाइतेहरूको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयमार्फत छानबिन समिति गठन गरिसकेको जनाएको छ। समितिलाई घटनाको निष्पक्ष छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिले आफ्नो कामसमेत सुरु गरिसकेको सरकारको भनाइ छ।
विज्ञप्तिमा सरकारले घटनाबाट प्रभावित पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा, मुठभेड वा उत्तेजनाबाट सम्भव नहुने भन्दै सरकारले संवाद, सहमति र कानुनी प्रक्रियाबाट मात्रै समस्याको दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरेको छ।
सरकारले नेपाली समाजको दीर्घकालीन धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। विशेषगरी धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले फैलाइने उत्तेजक अभिव्यक्ति र भ्रामक सूचनाप्रति सजग रहन तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कायम राख्दै त्यसमा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन नेपाल सरकार सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गर्दछ।'
सरकारले वर्तमान परिस्थितिमा मुलुकभर शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चार माध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ। साथै सबै पक्षलाई कानुनको सम्मान गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न पनि सरकारको आग्रह छ।
.gif)

.png)

