भारतीय विदेश मन्त्रालयले भन्यो : बालेनका ‘विशेष दूत’ को दिल्ली भ्रमणबारे जानकारी छैन


२०८३ श्रावण १२ मंगलबार १८:०२ बजे

काठमाडौं :  भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का विशेष दूतले भारत भ्रमण गरेको विषयमा आफूहरू जानकार नरहेको जनाएको छ।

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता रन्धिर जैसवालले विशेष दूतको भारत भ्रमणबारे आफूलाई जानकारी नभएको बताए।

यसअघि प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग जुलाईको पहिलो साता भेटवार्ता गरेको समाचार सार्वजनिक भएका थिए।

सोही विषयमा सञ्चारकर्मीले प्रश्न गरेपछि जैसवालले आफू त्यसबारे जानकार नरहेको प्रतिक्रिया दिएका हुन्। पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र उक्त भ्रमण प्रधानमन्त्री बालेनको भारत भ्रमणसँग सम्बन्धित रहेको उल्लेख गर्दै प्रश्न गरेका थिए। जवाफमा जैसवालले भने, 'पहिलो प्रश्नको बारेमा म जानकार छैन। नेपालका प्रधानमन्त्रीको भ्रमणको बारेमा निमन्त्रणा गइसकेको छ।' 

यसैबीच, भारतले नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्ता पठाएको पनि भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। प्रवक्ता जैसवालले भने, 'हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।' 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७