कप्तानगञ्ज घटनामा संवादको सट्टा राज्यले तुजुक देखायो : एमाले


२०८३ श्रावण १२ मंगलबार १८:५७ बजे

काठमाडौं : नेकपा (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको एमालेको आरोप छ । पार्टीले यसलाई ‘भर्त्सनायोग्य विषय’ भनेको छ ।

‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ । घटनामा परी अकालमै ज्यान गुमाएका देवानगञ्जका स्थानीय युवा ओमप्रकाश मेहताप्रति एमालेले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

एमालेले घटनामा घाइते भएका सम्पूर्ण नागरिकको तत्काल प्रभावकारी र निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष एवं उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । 

‘साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण नि:शुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेकपा (एमाले)  सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछ ।’

एमालेले राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भाव मुलुकको मुख्य शक्ति भएको उल्लेख गर्दै देवानगञ्ज तथा समग्र सुनसरीका नागरिकलाई कुनै पनि प्रकारका अफवाहमा नलाग्न आग्रह गरेको छ । साथै, वर्षौंदेखि कायम धार्मिक, सामाजिक तथा जातीय सद्भाव र आपसी एकता अक्षुण्ण राख्न पनि एमालेले अपिल गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७