तिथिमिति नै तोकेर सिंहासनमा राख्ने र श्रीपेच ढल्काउने भ्रम फैलाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने प्रयास सफल नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बनेको समेत दावी गर्दै अब फेरी त्यसलाई फर्काउने अभियानमा नलाग्न आग्रह गरेका छन् ।
ओलीले भने, ‘हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे–टाकुरे, राजा-रजौटाहरुले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए । पछिल्लो अढाइ सय वर्ष जति शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो ।’ साथै प्रधानमन्त्री ओलीले अनिर्वाचित, परिवार र वंश आधारित ‘संस्था’ वा ‘तन्त्र’ कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई २०६२–६३ को परिवर्तन मार्फत् निष्कर्षमा पुर्याइएको र २०७२ सालमा जारी संविधानमार्फत् संस्थागत गरिएको बताए ।
उनले भने, ‘हामीले कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश–परम्परामा आधारित पछ्यौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्यौं । संघीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं । तर अहिले यतिखेर राजनीतिक अस्थीरताका कारण सिर्जित निराशालाई ‘क्यास–गर्दै’, हाम्रा बलिदान तथा शताव्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा विउँताउने मात्रै हैन तिथि मिति नै तोकेर सिंहसानमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको छ ।’