विचार मिल्नेहरुसँग सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् ।
आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको पनि बताएका छन्।
‘०३२ सालदेखि लाग्दै आयौं । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकतावद्ध बनाउँदै पनि गयौं । कोही एकतावद्ध भए, कोही भएनन्। कोही एकतावद्ध भएर पनि बीचैमा छोडेर पनि गए । त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन,’ उनले भने ।
अध्यक्ष नेपालले सबैभन्दा पहिले आफ्नो विचार र अडानमा आत्मविश्वास राख्नुपर्ने बताएका छन्। ‘त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नु पर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनु पर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ,’ उनले भने ।