दुर्घटनामा परी ३४ जनाको ज्यान गयो

पर्सा । पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको संख्या न्यूनीकरणका लागि सातामा एक पटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । ‘हामीले सातामा एक पटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ, उनले भने, ‘गत वर्षभरिमा ५१ जनाले सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाउनुभयो । यो वर्ष हामीले ट्राफिक सचेतना फैलाएर ज्यान गुमाउनेको संख्या न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौँ ।’
कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघर चोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारीचालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो । प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारीचालक तथा यात्रुलाई अनुरोध गरेका छन् । ‘सवारी दुर्घटनाका कारणले धेरैले ज्यान गुमाइरहेका छन्’, उनले भने, ‘ट्राफिक नियम पालना गर्दा ठूला खालका दुर्घटनाबाट पनि जोगिन सकिन्छ । त्यसैले दुर्घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपाय पालना गर्न हाम्रो आग्रह छ ।’
समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताए ।