आन्दोलनको पूर्व सन्ध्यामा ४० वर्षमुनिका युवासँग अन्तर संवाद गर्दै अध्यक्ष लिङ्देन


२०८२ जेठ ८ बिहीबार १६:१२ बजे

काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारीमा रहेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्व सन्ध्यामा ४० वर्षमुनिका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् । जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले जानकारी दिएका छन् । 

राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नै पर्ने आवश्यकता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो , हिन्दू राष्ट्र पुनस्र्थापना र संघीयताको खारेजी गर्नुपर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रूपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।
राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरूले जिज्ञासा राख्न सक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालले बताएका छन् । 

‘राप्रपाले राजाको मुद्दा मात्र बोक्छ, राजा भनेको कस्तो राजा हो ? दैनिक जनजीविकासँग सम्बन्धित राप्रपाका एजेण्डा र नीति के हुन् भन्ने बारेमा आजको पुस्तालाई बुझाउनुपर्ने आवश्यकता छ । यो व्यवस्था विरुद्ध सडकमा किन आउने भन्ने बारेमा युवाहरूलाई जागृत गराउने प्रयास हो,’ प्रमुख रिमालले भने । राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरूलाई आमन्त्रित गरेको छ ।

राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ । यसअघि पनि राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू आयोजना गरिरहेको छ । यसक्रममा संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरूसँग निरन्तर बैठक, आ–आफ्ना मातहतका कमिटीहरूसँग छलफल र लक्षित वर्गहरूसँग तयारी बैठक गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७