रानीसैन क्षेत्रको सीमा विवाद तत्काल सल्टाउन सरकारसँग सांसद खनालको माग
सांसद खनालको मेयर गोपी हमालमाथिको दुर्व्यवहारप्रति आपत्ति
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको रानीसैन भूमिको विवादलाई यथाशीघ्र समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीमाथि भएको अभद्र व्यवहार र कुटपिटको घटनाप्रति संसद्को गम्भीर ध्यानाकर्षण गराए।
हिमाली गाउँपालिका क्षेत्र साइपाल हिमालको पूर्वी बेस क्याम्प हुनुका साथै बहुमूल्य जडीबुटी र दुर्लभ वन्यजन्तुको प्राकृतिक भण्डार रहेको उनले बताए। सोही जैविक विविधताको फाइदा उठाउँदै तस्करहरूले वर्षौँदेखि राज्यलाई कर छलेर अवैध रूपमा चोरी तस्करीको सञ्जाल चलाइरहेको विवरणहरू सार्वजनिक भइरहेको उनले दाबी गरे।
संसद्मा बोल्दै खनालले भने, ‘त्यस संवेदनशील क्षेत्रमा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न र पर्यटकहरूको चहलपहल बढाउन पहल भइरहेको थियो। तर, सुरक्षा निकायको उपस्थिति भएमा आफ्नो अवैध साम्राज्य ध्वस्त हुने डरले तस्कर र अराजक समूहले चौकी स्थापनाका लागि अग्रसरता लिने स्थानीय वडा सदस्यसहितको टोलीलाई कुटपिट गरी बन्धक बनाएका थिए भन्ने खबर प्राप्त भएको छ।’
जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरू नै स्थानीय क्षेत्रको विकास र पर्यटकीय प्रवर्द्धनको काममा अहोरात्र खटिँदा यस प्रकारको हिंसा र असुरक्षा भोग्नुपर्ने अवस्थाले सम्पूर्ण जनप्रतिनिधिहरूलाई गम्भीर र चिन्तित बनाएको उनले उल्लेख गरे।
सांसद खनालले रानीसैन क्षेत्रको सीमा सम्बन्धी विवादलाई सदाका लागि अन्त्य गर्न गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित सबै प्रशासनिक निकायहरूलाई तत्काल ठोस कदम चाल्न आग्रह गरे। उनले देशको प्रत्येक नागरिकले सुरक्षित रूपमा आफ्नो जीवन यापन गर्न पाउने र स्वतन्त्रतापूर्वक बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्न समेत सरकारको ध्यान खिचेका छन्।
.gif)

.png)




