यौन उत्पीडनको झुटो मुद्दा हालेको स्वीकारेपछि शिल्पा शिन्दे विवादमा

कानुनी कारबाहीको माग


२०८३ जेठ २४ आइतबार १५:२० बजे

मुम्बई : भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘भाभी जी घर पर है’ की पूर्व अभिनेत्री शिल्पा शिन्देको एक विवादास्पद बयानका कारण यतिबेला भारतीय मनोरञ्जन क्षेत्रमा ठुलो खैलाबैला मच्चिएको छ । कमेडियन भारती सिंहको पोडकास्ट अन्तर्वार्तामा शिल्पाले विगतमा आफ्ना शो निर्माताहरूविरुद्ध यौन उत्पीडनको झुटो मुद्दा दर्ता गराएको स्वीकार गरेपछि यो विवाद सुरु भएको हो ।

शिल्पाको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (AICWA) ले कडा आपत्ति जनाएको छ । एसोसिएसनले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग यस घटनामा तत्काल हस्तक्षेप गरी शिल्पा शिन्देमाथि कडा कानुनी कारबाही गर्न माग गर्दै पत्र बुझाएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा यौन उत्पीडनजस्तो गम्भीर आरोप झुटा रूपमा लगाउँदा सम्बन्धित व्यक्तिको प्रतिष्ठा, करियर, परिवार र मानसिक अवस्थामा अपूरणीय क्षति पुग्ने उल्लेख छ । साथै, यस्ता झुटो दाबीले भविष्यमा न्यायको खोजीमा आउने वास्तविक पीडितहरूको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न चिह्न खडा गर्ने एसोसिएसनले जनाएको छ ।

सन् २०१५ मा ‘भाभीजी घर पर हैं’ मा 'अंगुरी भाभी' को लोकप्रिय भूमिका निर्वाह गरेकी शिल्पाले एक वर्षपछि नै निर्माण टोली र निर्मातामाथि गम्भीर आरोप लगाउँदै शो छोडेकी थिइन् । हालैको पोडकास्टमा सोही घटनाको स्मरण गर्दै उनले भनिन्, "मैले आफ्ना निर्माताविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराएकी थिएँ, किनकि त्यतिबेला मसँग अर्को विकल्प थिएन । सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी विवाद समाधान गर्न मैले त्यो कदम चालेकी थिएँ र पछि समझदारीमार्फत त्यो अवस्थाबाट बाहिर निस्किएँ ।" आफू कानुनी पृष्ठभूमिबाट आएको दाबी गर्दै उनले प्रहरीले नै एफआईआर (उजुरी) बलियो बनाउन गम्भीर आरोप उल्लेख गर्न सुझाव दिएको समेत अन्तर्वार्तामा खुलासा गरेकी छिन् ।

यस बयानलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना र कानुनी कारबाहीको माग भइरहँदा पनि शिल्पा शिन्देले भने कुनै पश्चात्ताप व्यक्त गरेकी छैनन् । उनले आफ्नो इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै आलोचकहरूलाई लक्षित गरेर 'डाह गर्नेहरू डाह गरिरहून्' भन्दै व्यङ्ग्यात्मक सन्देश पोस्ट गरेकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७