दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान
काठमाडौँ: सम्पत्ति शुद्धीकरणको कसुरमा मुछिएका विवादास्पद व्यवसायीहरू दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूमाथिको बयान र थुनछेक बहसपछि सो आदेश दिएको हो। भट्ट र अग्रवालमाथि विभिन्न बिमा कम्पनी तथा हिमालयन लार्जक्यापको सामूहिक कोषको रकम दुरुपयोग गरी धितोपत्र बजारमा कृत्रिम मूल्य उतारचढाव गराएको, आपराधिक समूह खडा गरी षड्यन्त्र गरेको र ब्रोकर नं ५५ को खातामार्फत रकम अपचलन गरेको गम्भीर आरोप छ।
अदालतमा दायर भएको अभियोगपत्रमा भट्ट र अग्रवालविरुद्ध छुट्टाछुट्टै अभियोग दायर गरिएको छ। जसमा सम्पत्ति शुद्धीकरणको कसुरमा दीपक भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र शुलभ अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ। अदालतमा आफ्नो बयानका क्रममा व्यवसायी भट्टले आफ्नो वार्षिक आय नै ३० करोड रुपैयाँ हुने जिकिर गर्दै आफूले कुनै पनि गैरकानुनी काम नगरेको दाबी गरेका थिए। यद्यपि, हालसम्म प्राप्त प्रमाणका आधारमा अदालतले उनीहरूलाई थुनामा राख्ने निर्णय लिएको हो।
त्यसैगरी, अदालतले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शुलभ अग्रवालका लागि कारागारमा उपचारको उचित प्रबन्ध मिलाउन समेत आदेश दिएको छ। साथै, अनुसन्धानका क्रममा बरामद गरिएका गाडीहरू कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन, मोबाइललगायतका विद्युतीय उपकरणहरू अदालतको जिन्सीमा राख्न र बरामद विदेशी मुद्रा नेपाल राष्ट्र बैंकमा बुझाउन पनि अदालतले सम्बन्धित निकायलाई निर्देश गरेको छ।
.gif)

.png)

