महाधिवेशनमा प्यानल निर्माण नगर्न प्रतिनिधिलाई सभापति रवि लामिछानेको निर्देशन
प्रतिनिधि शुल्क ऐच्छिक, आर्थिक कठिनाइ भोगिरहेकालाई राहत
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा कुनै पनि किसिमको गुट, उपगुट वा प्यानल निर्माण नगर्न महाधिवेशन प्रतिनिधिहरूलाई कडा निर्देशन दिएका छन्। रास्वपा महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले परम्परागत राजनीतिक दलहरूको गलत प्रवृत्ति र गुटबन्दीविरुद्ध विद्रोह गरेर स्थापना भएको दलभित्र फेरि त्यही प्रवृत्तिको सानो बीउ पनि रोप्न नहुनेमा जोड दिएका छन्।
सम्बोधनका क्रममा उनले महाधिवेशन प्रतिनिधिहरूलाई कसैको प्रलोभन वा प्रभावमा नपरी विशुद्ध आफ्नो विवेक प्रयोग गरेर सक्षम, इमान्दार र राष्ट्रप्रति उत्तरदायी केन्द्रीय समिति चयन गर्न आग्रह गरेका छन्।
सभापति लामिछानेले रास्वपाको राजनीतिक यात्रा छोटो भए पनि अत्यन्तै उतारचढावपूर्ण र ऐतिहासिक रहेको उल्लेख गरे। विश्व राजनीतिक इतिहासमै बिरलै हुने घटनाका रूपमा पहिलो महाधिवेशनभन्दा अगावै पार्टीले झन्डै दुई तिहाइको सरकार (५२ लाखभन्दा बढी नागरिकको मत र भरोसा) प्राप्त गरेको स्मरण गराउँदै उनले अब पार्टीका सामु दुईवटा मात्र बाटो बाँकी रहेको बताए।
हाम्रा सामु कि त यो उपलब्धिलाई लिएर महिमागान गाउँदै हिँड्ने चुनौती छ, कि त यसलाई देश र जनताको पक्षमा परिणाममा बदल्ने चुनौती छ,' लामिछानेले भने, 'केवल सपना देख्दैमा राजनीतिक यात्रा अटो-पाइलटमा चल्दैन, यसका लागि प्रतिबद्धता र ठोस कदम चाल्नैपर्छ।' उनले अघिल्लो पुस्ताको तुलनामा वर्तमान समयको राजनीतिक संघर्ष सहज भए पनि देश निर्माणको चुनौती उत्तिकै गम्भीर रहेको धारणा राखे।
पार्टीभित्र स्थापनाकालदेखि दुःख गरेका पुराना र स्थापित दलहरू त्यागेर आशासहित आएका नयाँ साथीहरू दुवैको भावना स्वाभाविक रहेको बताउँदै सभापतिले नेतृत्व चयनको मुख्य आधार पुरानो वा नयाँ नभई क्षमता, इमान्दारिता र उत्तरदायित्व हुनुपर्ने स्पष्ट पारे। महाधिवेशनका सन्दर्भमा बाहिर चलेका विभिन्न अफवाहहरूको खण्डन गर्दै उनले सांसद वा मन्त्री भएका व्यक्तिलाई केन्द्रीय समितिमा जान रोक लगाउने कुनै पनि औपचारिक निर्णय नभएको स्पष्ट पारे। निर्बाध रूपमा उम्मेदवारी दिन आह्वान गर्दै उनले 'उर्दी जारी गर्ने' प्रवृत्ति रास्वपाको चरित्र नभएको बताए।
उनले भने,'पार्टीको महाधिवेशन प्रतिनिधि हुनु भनेको कसैले सदस्य बनाइदिएकै भरमा उसैलाई भोट हाल्ने वा आफ्नो इमान बन्धकी राख्ने व्यक्ति हुनु होइन। आफ्नो विवेक प्रयोग गर्नुहोस् र जसले जिते पनि घण्टीवाहक र नीलो क्रान्तिका योद्धाले नै जित्ने कुरामा ढुक्क हुनुहोस्।'
प्रतिनिधि शुल्क ऐच्छिक, आर्थिक कठिनाइ भोगिरहेकालाई राहतको घोषणा
महाधिवेशनको बन्दसत्र लम्बिएका कारण र अत्यधिक गर्मीका बीच प्रतिनिधिहरूले भोग्नुपरेको असुविधाप्रति सभापति लामिछानेले क्षमायाचना गरे। लामो बसाइका कारण प्रतिनिधिहरूमा थप आर्थिक भार पर्न गएको महसुस गर्दै उनले सभापतिको विशेषाधिकार प्रयोग गरी ५ हजार रुपैयाँको महाधिवेशन प्रतिनिधि शुल्कलाई पूर्ण रूपमा ऐच्छिक बनाउने घोषणा गरे।
आर्थिक अभावकै कारण कोही पनि मतदान प्रक्रियाबाट वञ्चित भई घर फर्किनु नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको उनले स्पष्ट पारे। शुल्क बुझाइसकेका प्रतिनिधिहरूले चाहेमा रकम फिर्ता लिन सक्ने व्यवस्था मिलाउन आर्थिक समितिलाई निर्देशन दिँदै उनले सक्षम साथीहरूलाई विपन्न साथीहरूको शुल्क तिरिदिएर 'खुट्टा तान्ने होइन, हात समातेर माथि उठाउने' नयाँ राजनीतिक संस्कारको विकास गर्न अपिल गरे। कसैले पनि शुल्क तिर्न नसकेको खण्डमा पार्टीले वैकल्पिक स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता समेत उनले जनाए।
आन्तरिक मतभेद कोठाभित्रै समाधान गर्न निर्देशन
रास्वपा परिपक्वतातर्फ अगाडि बढिरहेको दल भएको दाबी गर्दै लामिछानेले पार्टीभित्र हुनसक्ने कुनै पनि मनमुटाव, जिज्ञासा वा नीतिगत मतभेदहरूलाई कोठाभित्र बसेर छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए। आन्तरिक विषयलाई सडकको तमासा वा विवादको विषय नबनाई रास्वपाको आफ्नै विशिष्ट शैलीमा समाधान खोजिने उनको भनाइ थियो।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा रहेका लामिछानेले आर्थिक, संगठनात्मक तथा अनुशासन आयोगका प्रतिवेदनहरूमाथि रचनात्मक आलोचना र सुझाव दिन सबैलाई आग्रह गरे। अन्तमा, राष्ट्रिय सहमतिका साथ नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि आफू कुनै पनि 'पार्टी गुट' को छनोटकर्ता नबन्ने र स्वच्छ प्रतिस्पर्धामार्फत नै सिंगो संसारलाई विवादरहित मर्यादित महाधिवेशनको नयाँ इतिहास देखाउने दृढता व्यक्त गर्दै उनले सम्बोधन टुङ्ग्याएका छन्।
.gif)

.png)

