हाम्रो अभिव्यक्ति र उपस्थितिले कोही पनि त्रसित हुनुहुँदैन : रवि लामिछाने
‘शक्ति पृथकीकरणको सिद्धान्तलाई बिर्सिएर विगतका शासकजस्तै गलत अभ्यास गर्यौं भने त्यो दुर्घटनामा जानेछ’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका कुनै पनि गतिविधि, अभिव्यक्ति वा उपस्थितिले समाजको कुनै पनि तप्का भयभित वा त्रसित हुन नपर्ने बताएका छन्। पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि शपथ ग्रहण गर्दै लामिछानेले यस्तो बताएका हुन्।
उनले लोकतन्त्रमा उठ्ने प्रश्नहरूबाट डराउनु नहुने भन्दै ती प्रश्नहरूको रचनात्मक ढंगले सामना गर्ने जिम्मा आफ्नो पार्टीको भएको स्पष्ट पारे। लामिछानेले भने, 'हाम्रा राजनीतिक क्रियाकलाप, अभिव्यक्ति र उपस्थितिले देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय समुदाय वा राजनीतिक वृत्त कोही पनि त्रसित हुनुहुँदैन। प्रश्नहरू आउँछन्, त्यसबाट भाग्ने होइन, रचनात्मक रुपमा सामना गर्दै जनतालाई आश्वस्त पार्नु हाम्रो दायित्व हो।'
सो अवसरमा सभापति लामिछानेले लोकतन्त्रका आधारभूत सिद्धान्त र राज्यका संस्थाहरूको रक्षामा जोड दिए। शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने बताउँदै उनले विगतका शासकहरूले जस्तै मतको बलमा गलत अभ्यास गरे त्यो देशका लागि नै घातक हुने चेतावनी दिए।
'लोकतन्त्रका आधारभूत सिद्धान्त र यसका संस्थाहरूलाई भत्कन दिनु हुँदैन। यदि शक्ति पृथकीकरणको सिद्धान्तलाई बिर्सिएर विगतका शासकजस्तै गलत अभ्यास गर्यौं भने त्यो दुर्घटनामा जानेछ,' उनले भने, 'त्यस्तो दुर्घटनाले पार्टीलाई मात्र नभई सिंगो देश र भविष्यको पुस्तालाई नै अपूरणीय क्षति पुर्याउनेछ।'
.gif)

.png)

