प्रदेश खारेजीको पक्षमा छैनौँ, प्रभावकारी बनाउन ‘रेट्रोफिट’ मात्र गर्न खोजेका हौँ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले प्रदेश संरचना खारेज गर्ने गरी कुनै पनि एजेन्डा नलिएको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेजीको पक्षमा नरहेको दाबी गरेका हुन्।
पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेजीको विषय उल्लेख नगरिएको बताउँदै उनले प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउन ‘रेट्रोफिट’ (सुधार वा पुनर्निर्माण) गर्नुपर्ने विषयमा मात्र बहसको प्रस्ताव गरिएको स्पष्ट पारे।
सभापति लामिछानेले केही पुराना राजनीतिक दलका नेताहरूले प्रदेश खारेजीको चर्को स्वरमा वकालत गरिरहेको सन्दर्भ जोड्दै रास्वपाले भने सुधारको बहस मात्रै गरेको जिकिर गरे। भने, ‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ । यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन् । प्रदेश खारेजी भनेर हामीले कहीँ लेखे जस्तो त लाग्दैन । हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महसुस गरेका छन् ।’
रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको उल्लेख गर्दै सभापति लामिछानेले संघीय संरचनालाई नागरिकमैत्री र थप सुदृढ बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए। उनले संरचना खारेज गर्ने भन्दा पनि त्यसलाई कसरी जनताको पहुँचमा र छरितो बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन रहेको बताए। भने, ‘रास्वपाले मात्र गरेको होइन । कयौँ पुराना राजनीतिक दलका नेताहरूले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन् । हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ । यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको न हो ।’
.gif)

.png)

