हङकङबाट देउवाको सन्देश: नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ

'आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ' 


२०८३ श्रावण ५ मंगलबार १८:५२ बजे
फाइल तस्बिर

काठमाडौं :  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि विदेशमा बसे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको बताएका छन्। नेपाल फर्किनुअघि जारी गरेको सन्देशमा उनले आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको उल्लेख गर्दै सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने चिन्ता समेत व्यक्त गरेका छन् ।

देउबाले आफ्नो सन्देशमा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने उल्लेख गर्दै पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम, न्यायपालिकाप्रतिको विश्वास र संविधानप्रतिको आस्थाप्रति आफू पूर्ण आशावादी रहेको बताएका छन्। उनले लोकतन्त्रविरोधी प्रवृत्ति अन्ततः जनताको शक्तिसामु टिक्न नसक्ने विश्वास व्यक्त गरेका छन्।

'म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवापुस्ता तथा आमनेपाली जनतासँग हार्दिक आग्रह गर्दै आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदै छु', सन्देशमा देउवाले भनेका छन् ।  

देउबाले जननायक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। बीपीले व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वोपरि मानेर स्वदेश फर्किएको इतिहास अहिलेको पुस्ताका लागि पनि प्रेरणादायी रहेको उनको भनाइ छ।

राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता र समावेशिताको लक्ष्य प्राप्त गर्न बीपीको मार्गदर्शन नेपाली कांग्रेसको आधारभूत सिद्धान्त रहेको उल्लेख गर्दै उनले त्यो केवल राजनीतिक एजेन्डा नभई राष्ट्र निर्माणप्रतिको अटल प्रतिबद्धताको आधार भएको बताए।

‘देशलाई विभाजन होइन, एकता चाहिएको छ’

देउबाले वर्तमान परिस्थितिले देशलाई अझ व्यापक दृष्टिकोण, गहिरो सहकार्य र साझा राष्ट्रिय संकल्पको आवश्यकता रहेको उल्लेख गरेका छन्। 'आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ,' उनले सन्देशमा भनेका छन्।

उनले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच समन्वय गर्दै साझा भविष्य निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्रिय संवाद र सहकार्यमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने उनको धारणा छ।

स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहँदा पनि आफ्नो ध्यान निरन्तर नेपालको राजनीतिक अवस्था, लोकतन्त्र र राष्ट्रिय हितमा केन्द्रित रहेको देउबाले बताएका छन्। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै उनले राजनीतिक असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा फरक विचारमाथिको दमन लोकतान्त्रिक मूल्य र संस्कृतिविपरीत हुने बताएका छन्।

उनले यस्ता प्रवृत्तिको प्रतिरोध गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार भएको उल्लेख गर्दै यस विषयमा पार्टी कुनै पनि प्रकारको सम्झौतामा नरहने स्पष्ट पारेका छन्।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७