नाबालिग किशोरीको अश्लील सामग्री सामाजिक सञ्जालमा राख्ने युवक पक्राउ
फेसबुकमा साथी बनेर अश्लील सामग्री पोस्ट गरेको आरोप
काठमाडौं : नाबालिग किशोरीको अश्लील सामग्री सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका १९ वर्षीय सुदिप कटुवाललाई काठमाडौंबाट पक्राउ गरेको हो।
साइबर ब्युरोका प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार कटुवालले फेसबुकमार्फत किशोरीसँग साथी बनेर विभिन्न प्रलोभनमा पारेका थिए। त्यसपछि किशोरीको अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्नुका साथै रकमसमेत माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई भदौ ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कटुवालमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाही अघि बढाइएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

