डीडीसीमा १२ करोडको अनियमितता आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ पक्राउ
काठमाडौं : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको स्रोत तथा सम्पत्तिको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । यसबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा, चितवनको चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय, हेटौँडास्थित धुलो दूध कारखानाका कर्मचारी जीतेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका कर्मचारी नवीनराय यादव, माडी चिस्यान केन्द्रका कर्मचारी शिवनन्दन राय र सोही केन्द्रका प्रमुख वीखबहादुर भण्डारी छन् ।
सीआईबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरूले आपसी मिलेमतोमा फर्जी समूह खडा गरी संस्थानको स्रोत तथा सम्पत्तिबाट गैरकानुनी लाभ लिएको आरोप छ ।
दूध संकलन, ढुवानी, चिस्यान केन्द्र सञ्चालन तथा धुलो दूध उत्पादन प्रक्रियामा अनियमितता गरी हिसाबकिताब मिलाएर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नक्कली परिमाण देखाउने, गुणस्तरमा चलखेल गर्ने र कागजी विवरण मिलाएर संस्थानलाई आर्थिक नोक्सानी पुर्याउने कार्यमा कर्मचारीहरू संलग्न रहेको आरोप छ । यसरी गैरकानुनी रूपमा प्राप्त लाभको कुल रकम १२ करोड १३ लाख ४३ हजार रुपैयाँ रहेको सीआईबीको भनाइ छ ।
डीडीसीमा भएको भनिएको अनियमितता सार्वजनिक भइरहँदा लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानले आन्दोलन गर्दै आएका छन् । किसानहरूले दूध बिक्री गरेबापतको रकम समयमै नपाएको गुनासो गर्दै पटक–पटक काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए । किसानको भुक्तानी बक्यौता रहिरहेका बेला संस्थानभित्रै ठूलो रकम अनियमितता भएको आरोप सार्वजनिक भएको हो ।
पक्राउ परेका आठै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । अदालतबाट म्याद थप गरी हिरासतमा राखिएका उनीहरूमाथि वित्तीय कारोबार, बैंक खाता तथा कागजातको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।
सहप्रवक्ता खड्काका अनुसार घटनामा अन्य उच्च अधिकारी वा बिचौलियाको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको छ । अनुसन्धानको दायरा थप फराकिलो बनाइने उनको भनाइ छ ।
.gif)

.png)




