लुम्बिनी एनपीएलको शीर्ष स्थानमा

११.४ ओभरमै पोखरालाई हराउँदै लुम्बिनी शीर्षमा


२०८३ कार्तिक १७ मंगलबार २३:२७ बजे

काठमाडौं : पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । निरोश डिक्वेलाले पनि अविजित २७ रन बनाए । रोहित र डिक्वेलाबीच तेस्रो विकेटका लागि भएको ७७ रनको साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो । ओपनर डार्सी सर्टले १३ रन जोडे ।

पोखराका विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

पोखराका लागि चमिका करुणरत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण थगुन्नाले १२ रन जोडे ।

पोखरालाई कम योगफलमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, अभिनाश गौतम र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट हात पारे ।

यो जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ । टोलीले दुई खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यता पोखराको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो । यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो । तीन खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ । लगातारको हारपछि पोखराको प्लेअफ यात्रा कठिन बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७