मानव–वन्यजन्तु द्वन्द्व बढ्दै


१२:४६ बजे

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो ।

विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

तनहुँमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् । ‘यहाँ चितुवा र मानवबीच द्वन्द्व बढिरहेको छ, चितुवाको आक्रमणबाट बालबालिका सिकार भइरहेका छन्’, काफ्लेले भने, ‘चितुवाबाट बच्ने प्रमुख उपाय भनेको सतर्कता हो ।’

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न काफ्लेले आग्रह गरे । ‘चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔं, झाडी सफा गरौँ, एक्लै नहिँडौं’, काफ्लेले भने, ‘बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।’ सञ्चारमाध्यमले पनि चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरे ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको बताइन्छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराउँदै आएपनि चितुवा आक्रमण न्यूनीकरण हुन सकिरहेको छैन’, डिभिजन वन प्रमुख काफ्लेले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।’

जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । ‘वन जङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ’, उनी भन्छन्, ‘त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।’

काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।

कार्यालयले चितुवा आक्रमणबाट बचाउन विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम पनि गरेको थियो । तर पनि चितुवाको आक्रमण रोकिन सकेको छैन । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिँदै आएको वन कार्यालयले जनाएको छ ।

चौध बालबालिकाले ज्यान गुमाए

चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

त्यस्तै २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

यसैगरी २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का ११ वर्षीया विना चेपाङ, कात्तिक १५ गते व्यास नगरपालिका–१२ का आठ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

एक सामुदायिक वन : एक पोखरी निर्माण

डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक-एक, म्याग्दे गाउँपालिकामा दुई÷दुईवटा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशिराज पण्डित बताउँछन् । वनमा पानीको स्रोत मासिँदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो ।

नरभक्षी चितुवा मार्न प्रशासनको आदेश

पछिल्लो समय तनहुँका विभिन्न ठाउँमा आतङ्क मच्चाएको नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको बुधबारको पत्र तथा स्थानीय व्यक्तिहरुको निवेदन समेतका आधारमा प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्न अनुमति दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवा मार्न अनुमति दिने निर्णय भएको जानकारी दिए । लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएको र मानिस तथा घरेलु चौपायामाथि निरन्तर आक्रमण भइरहने स्थिति भएकाले चितुवा मार्न अनुमति दिने निर्णय भएको अर्यालले बताए । ‘त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीयवासीलाई जीउज्यानको सुरक्षाको अनुभूति दिलाउन हिंस्रक नरभक्षी चितुवा मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन अनुमति दिने निर्णय भएको छ’, अर्यालले भने ।

चितुवाको आक्रमणबाट मङ्गलबार साँझ व्यास नगरपालिका–१२ छिर्कनेमा आठ वर्षीय अभिनव कुँवरको मृत्यु भएको थियो । साथै बन्दीपुर गाउँपालिका–१, ३, ४ र ५ तथा व्यास नगरपालिका–११ र १२ मा गरी चितुवाको आक्रमणबाट पाँचजना बालबालिकाको मृत्यु तथा आठजना घाइते भएका छन् । –कृष्ण न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७