राजदूत बन्न चाहने थाइल्याण्डकी सुन्दरीलाई मिस वर्ल्ड २०२५ को उपाधि

काठमाडौं । मिस वर्ल्ड ७२ औं संस्करणको नतिजा घोषणा गरिएको छ। यस वर्ष थाइल्याण्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वल्र्डको ताज जितेकी छन्। ७१औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा ताज पहिराएर सम्मान गरिन्। ओपल अन्तर्राष्ट्रिय सम्बन्धकी विद्यार्थी हुन्। भविष्यमा राजदूत बन्न चाहना राख्ने ओपललाई मनोविज्ञान र मानवशास्त्रमा पनि रुचि छ । उनले स्तन क्यान्सरलाई समर्थन गर्ने संस्थाहरूको लागि स्वयंसेवा गरेकी छिन्।
यस प्रतियोगितामा पहिलो रनर–अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर–अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्। मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो। समापन समारोह अर्थात् मिस वल्र्ड ग्रान्ड फिनाले तेलंगानाको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो। यस वर्षको प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।
नेपाल अन्तिम ४० मा समेटिन सकेन । नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन्। कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वर्ल्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरे ।