संगठन चलाउन ‘थैली अभियान’

–गीता थापा
सुर्खेत । नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटीले संगठन चलाउन ‘थैली अभियान’ सुरु गरेको छ। पार्टी तथा जनवर्गीय संगठन सशक्तिकरण एवं सुदृढीकरणका लागि आर्थिक रुपमा सबल तथा आत्मनिर्भर हुनुपर्ने महसुस गरी थैली अभियान सुरु गरेको अनेमसंघ कर्णालीले स्पष्ट गरेको छ।
अनेमसंघ कर्णाली प्रदेश कमिटीका अध्यक्ष पद्मा खड्काका अनुसार आर्थिक अभावका कारण संगठन सञ्चालनमा देखिएको कठिनाइलाई सामना गर्न सुरु गरिएको अभियान फलदायी एवं उपलब्धिमूलक भएको छ । थैली अभियानको औपचारिक सुरुआत नेकपा (एमाले) कर्णाली प्रदेशका पूर्वअध्यक्ष गुलाबजङ्ग शाह र पूर्वप्रदेश इन्चार्ज लेखराज भट्टबाट भएको हो । पार्टी कमिटीको २०८० असोज ९ गते सम्पन्न दोस्रो बैठकमा नेताद्वयले थैलीमा हजार÷हजार रुपैयाँ राखेर अभियान शुभारम्भ गरेको अध्यक्ष खड्काले जानकारी दिइन् । त्यसपछि खाजा खाएर फिर्ता भएको रकम थैलीमा राख्ने क्रमले निरन्तरता पाएको छ।
अध्यक्ष खड्का भन्छिन्, ‘सुरुमा सानो लाग्थ्यो पाँच रुपैयाँ, १० रुपैयाँ तर नियमितता, प्रतिबद्धता र सामूहिक प्रयासले थैली अभियान आर्थिक व्यवस्थापनको आधार बनेको छ ।’ थैली अभियानको अभ्यास सरल देखिन्छ । खाजा खाँदा फिर्ता भएको पैसा जम्मा गर्नु, तर यसको पछाडि गहिरो सोच, संगठनप्रतिको प्रतिबद्धता र आत्मनिर्भर बन्ने प्रयास लुकेको छ । उनले थपिन्, ‘हाम्रो उद्देश्य प्रस्ट छ। सशक्त संगठन निर्माण, आर्थिक आत्मनिर्भरता र महिला नेत्रीहरूको एकतामा आधारित आन्दोलनको सुदृढीकरण।’
उनले भनिन्, ‘हामीले देख्यौँ कि सहयोगी हातहरू टाढा छैनन्, रकम हाम्रो खल्तीमै छ । संघीयता आयो, महिलाको प्रतिनिधित्वसहित नेतृत्वले स्थान पायो, तर आर्थिक स्रोत कमजोर रहेसम्म संगठन बलियो हुँदैन भन्ने बुझेर हामी आफैले बाटो खोल्यौँ र थैली अभियान सुरु गर्यौँ ।’ संगठन चलाउन आर्थिक चुनौती बढ्दै गएपछि अनेमसंघ कर्णाली प्रदेशकी अध्यक्ष खड्काले देखेको थैली अभियान अहिले सशक्त बन्दै गएको छ । अध्यक्ष खड्का भन्छिन्, ‘हाम्रो अभियान भनेको समस्या देखाएर होइन, समाधान खोजेर अगाडि बढ्ने हो । थैली अभियान त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।’ उनले थपिन्, ‘‘थैलीमा जम्मा हुने प्रत्येक रुपैयाँको मूल्य केवल पैसामा मात्र तुलना गर्न मिल्दैन, त्यो त विश्वास, त्याग र संगठनप्रतिको प्रेम र समपर्ण हो ।’
अहिले अनेमसंघ कर्णालीमा प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने ५४ सदस्यीय कमिटी छ। ती सबै सदस्यहरूले खाजाको फिर्ता रकम नियमित रूपमा थैलीमा हालिरहेका छन्। पहिलो पटकको थैली संकलनका क्रममा १५ हजार रुपैयाँ जम्मा भएको थियो। त्यसको निरन्तरतापछि हालसम्म ६० हजार रुपैयाँ संकलन भइसकेको अध्यक्ष खड्काले जानकारी दिइन्।
उनले भनिन्, ‘महिलाका हातमा परेको थैली आज संगठन सशक्तिकरणको बलियो हतियार बनेको छ । संघको बैठक, तालिम, जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दा लगानी गर्ने स्रोतका रूपमा थैलीको प्रयोग गर्दै आइरहेका छौँ ।’ यसले अनेमसंघभित्र आर्थिक अनुशासन मात्रै होइन, समान उत्तरदायित्वको संस्कार पनि विकास भइरहेको छ। मुलुकको विकास जस्तै संगठनको विकास पनि आफैबाट सुरु गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ।
थैली अभियानबाट संकलित रकक कोषाध्यक्षको जिम्मामा छ। तर, अब छिट्टै बैङ्क खाता सञ्चालन गरी, लेखापरीक्षण प्रणालीमार्फत पारदर्शी रुपमा कोषको व्यवस्थापन गरिने संघले स्पष्ट गरेको छ। ‘हामी रकम जम्मा मात्रै गरिरहेका छैनौँ, त्यो रकम पारदर्शी ढङ्गले चलाउने प्रतिबद्धता पनि हाम्रो अभियानकै हिस्सा हो’, अध्यक्ष खड्का बताउँछिन्। संघले आर्थिक अनुशासन कायम गर्न पदाधिकारीहरूबाट १०० रुपैयाँ र सदस्यहरूबाट ५० रुपैयाँ ‘लेवी’ पनि संकलन गर्ने गरेको छ।
यस्तै, अनेमसंघले २६१ वटा टोल कमिटीहरू पनि गठन गरिसकेका छ। हालसम्म कर्णाली प्रदेशमा ३० हजार सदस्यता वितरण गरिएको छ, जसमध्ये सात हजार सदस्य औपचारिकरूपमा आबद्ध भइसकेका छन्। अध्यक्ष खड्काका अनुसार संगठनको लक्ष्य २० हजार सक्रिय सदस्य बनाउने र प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने रहेको छ । उनले अब संघको आफ्नै मुखपत्र प्रकाशन गर्ने योजना अघि बढेको र त्यसबाट विज्ञापन संकलन गरी आर्थिक स्रोतको विविधीकरण गर्ने सोच बनाइएको बताइन् ।
अध्यक्ष खड्काले भनिन्, ‘कर्णाली जस्तो भौगोलिक हिसावले दुर्गम र पछि परेको, आर्थिक एवं शैक्षिक रुपमा कमजोर प्रदेशमा पार्टी संगठन सञ्चालन गर्नु सजिलो छैन। अझ महिलाको नेतृत्वमा राजनीतिक संगठन चलाउनु त थप चुनौतीपूर्ण छ। तर अनेमसंघ कर्णालीको यो अभियान अरु सामाजिक, राजनीतिक संघसंस्थाका लागि भने अनुशरणयोग्य हुने विश्वास लिएकी छु। थोरै रकमको निरन्तर बचतले ठूलो परिवर्तन सम्भव छ भन्ने उदाहरण थैली अभियानले दिएको छ। रासस