राजावादी आन्दोलन रोकिए राप्रपा नेताका सुरक्षाकर्मी फिर्ता हुन्छन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए। सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो। उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए। संविधानका आधारभुत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न चेतावनी दिए। गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताएका छन्।