गाउँ–गाउँमा सडक कालोपत्र, स्थानीय खुसी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षातमा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । ‘पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो’, स्थानीय नन्दकुमार पुनले भने, ‘अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ।’
कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो। अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताइन्। ‘सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो’, उनले भनिन् । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।
त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यति मात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताइन् । ‘वर्षातमा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ ।’ जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो ।
यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्र गरिएको बताए ।
‘सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ’, उनले भने, ‘यसले निकै सहज बनाएको छ ।’ यस वर्ष मात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए।आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्य समेत गरिएको उनको भनाइ छ।