सिमराकी डीएसपी वाइवा हेडक्वार्टर तानिइन्


२३:२४ बजे

 बारा । इलाका प्रहरी कार्यालय बारा सिमराकी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ। उनलाई प्रहरी प्रधान कार्यालय तानेर हेडक्वार्टरले छानविन अगाडि बढाएको । जिम्मेवारी सम्हालेको पाँच महिनामै विवादमा आएपछि डीएसपी वाइवाको जिम्मेवारी खोसिएको हो।

उनको ठाउँमा अर्का डीएसपी वेद जोशी आजै त्यहाँ हाजिर हुँदैछन्। वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन्। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो। जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको बताए। जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।

सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको हो । उनले आफ्नो निर्दोषिता प्रमाणित गरेमा पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनायो। इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन्। १८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन्।

उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो। जेठ १८ मा थोरैको कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन्। डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।

डीएसपी वाइवा सिमरावासीबीच प्रशंसनीय प्रहरीकार्यका कारण चर्चामा थिइन् । उनले जेठ पहिलो साता शान्ति टोलस्थित खेल मैदानमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि हस्तक्षेप गरेकी थिइन् । प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो। तर, आयोजकले राति ९ बजेसम्म टिकट बेचिरहेका थिए। राति भोजपुरी गायक सुनिल पण्डितले गीत गाइरहँदा डीएसपी वाइबा आफैँ स्टेजमा पुगेर माइक खोस्दै साउण्ड सिस्टमको तार समेत झिकिदिएकी थिइन् । यो घटनामा स्थानीयले उनको प्रशंसा गरेका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७