उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।
उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले दिउँसो १ बजेदेखि नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । बिहान ११ बजेर ११ मिनेटमा सौर्यको (एन–एएमई) जहाज दुर्घटनामा परेको थियो । नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए ।
जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो । यो समयमा अवतरण तालिका पाएका कतिपय विमानलाई होल्ड गरिएको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको छ । घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेनको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।