हाम्रा कारण प्रचण्ड र हामीबीचको गठबन्धन टुटेको होइन : महामन्त्री थापा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको बताएका छन् ।
आज (मंगलबार) पोखरामा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डकै कारण त्यस बेलाको गठबन्धन तोडिएको आरोप लगाए । ‘प्रचण्डजी र हामीबीच भएको गठबन्धन हाम्रो कारणले टुटेको होइन, हामी यो नचाइने कुरामा लाग्न हुँदैन’, उनले भने, ‘प्रचण्डले त्यो दिन चाहिँ म नेकपा एमालेसँग, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउन नजानु भएको भए कांग्रेसले के गरेको थियो ? हामीले के गरेका थियौं ?’
महामन्त्री थापाले त्यतिबेला गोदावरीमा बसेको महासमिति बैठकले गठबन्धन परिवर्तनको कुनै कुरा नगरेको जिकिर पनि गरे । ‘गोदावरीमा भएको महासमिति बैठकले गठबन्धन फेरिएको छ भनेर निष्कर्ष निकालियो भने सबैलाई मूर्ख बनाउने कुरा मात्रै हुन्छ,’ उनले भने, ‘के सोच्नु होला, म त्यता पनि टिप्पणी गर्न चाहन्नँ । बाई च्वइस मलाई बकाइदा निर्णय गरेर मलाई सजिलो हुन्छ भनेर नेकपा एमाले, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउन जानु भएको हो।’
महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भइनसकेको बताएका छन् । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको थापाको भनाइ छ ।
‘म अहिले कांग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औं महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो,’ थापाले भने, ‘त्यो जिम्मेवारीमा म केन्द्रित छु । अहिले नै १५ औं महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु । महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन ।’
कांग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ । २०७८ मंसिरमा महाधिवेशन भएकोले चार वर्षपछि २०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो । तर कांग्रेसमा सभापतिलाई विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने विधानले नै व्यवस्था गरिदिएकोले यसअघि पनि यो अधिकार सभापतिले प्रयोग गर्ने गरेका थिए ।
महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन् । कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायलाई परिपत्रसमेत गरिसकेको छ । फरक प्रसङ्गमा महामन्त्री थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन् ।