बर्षमान पुनको दावी : सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ
धनगढी । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने दावी गरेका छन् । आज (बुधबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले भने, ‘भूमिहिनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो । तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ ।’
उनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताए । ‘अहिले गणितीय हिसाबले बहुमत जस्तो देखिए पनि सरकार कम्फर्टेबलको स्थितिमा पनि छैन’, उनले भने, ‘राष्ट्रिय सभामा बहुमत पुग्ने स्थिति छैन । जुन कारण अध्यादेश राष्ट्रिय सभामा फेल हुने देखिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै संसद्सँग डराएर सरकारले संसद्को मानहानि गरेको समेत आरोप पुनको छ । उनले ओलीले विगतको संसद् विघटन प्रवृत्ति प्रवृत्ति दोहोर्याउन सक्ने आशंका गर्न सकिने समेत बताए ।
‘विधेयक अधिवेशन सुरु भएको छ । जुन कानुन निर्माणको लागि गरिन्छ । अधिवेशन सुरु गर्नु भन्दा ४ दिन अगाडि सरकारले अध्यादेश जारी गरेको छ । जसले राष्ट्रिय राजनीतिमा तरङ्ग छ’ पुनले भने, ‘सरकार किन अध्यादेशमार्फत शासन गर्न उद्धत छ ? भन्ने कुरा विशेष बहसको कुरा छ । विगतमा नेकपा कालमा पनि उहाँले संसद् विघटन गर्नुभएको थियो । संसद् छल्ने, विघटन गर्ने, अध्यादेशमार्फत शासन गर्ने जस्ता कार्य फेरि दोहोरिन्छ कि भन्ने आम आंशका छ ।’