शेखर पक्षको नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेविसंघ केन्द्रीय सदस्यहरूले उपत्यकास्तरीय विद्यार्थी भेला गरेका छन् । पूर्व कोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य प्रेमिका राना मगर, भुवन भट्ट, विनोद शाही ठकुरीलगायतले काठमाडौंको आरआर क्याम्पसमा बुधबार स्ववियु निर्वाचन तयारी भेला गरेका हुन् ।
भेलालाई नेविसंघ पूर्वअध्यक्षहरू गुरूराज घिमिरे र रञ्जित कर्ण, कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतले सम्बोधन गरेका छन् । भेलामा काठमाडौं उपत्यकाभित्रका विभिन्न विश्वविद्यालय, आंगिक क्याम्पसका स्ववियु सभापति, पदाधिकारी र विद्यार्थीहरू सहभागी थिए । ‘चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि हामीले तयारी गरेको हो,’ केन्द्रीय सदस्य भुवन भट्टले भने । कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले तोकिएको समयमै स्ववियु निर्वाचन हुनुपर्ने बताए ।
‘कसैसँग तालमेल नगरी नेविसंघ स्ववियु निर्वाचनमा जानुपर्छ, नेताका नजिक भएका भरमा टिकट लिनेदिने गर्नु हुँदैन, अन्याय भए प्रतिवाद गर्नुपर्छ,’ उनले भने । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले संघभित्र विचार समूहका नाममा काखापाखा गरिए अन्यायका विरूद्ध बोल्नुपर्ने बताए । ‘तपाईंहरू स्ववियु तयारीमा जुट्नुस्, हामी संरक्षण गर्छौं,’ उनले भने । भेलामा २५ कलेजका विद्यार्थीले प्रतिनिधिमुलक रूपमा धारणा राखेका थिए।