अध्यादेशको पक्षमा उभिने–नउभिने जसपा नेपाल अझै ‘अनिर्णित’


२०:३३ बजे

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारले संसदमा पेस गरेका अध्यादेशको पक्षमा उभिने–नउभिने अझै अनिर्णत देखिएको छ ।  अध्यादेश अध्ययन गर्न गठित कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारले ल्याएको अध्यादेश भोलि सदनमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

जसपा नेपालले राजकिशोर यादवको अध्यक्षतामा अध्यादेश अध्ययन र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको थियो । कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको थियो । कार्यदलका संयोजक यादवले अध्ययन प्रतिवेदन पार्टीलाई बुझाउने र अध्यादेशबारे औपचारिक निर्णय बिहीबारको संसदीय दल बैठकबाट गरिने जानकारी दिए ।

‘हामीले यो अध्यादेशलाई प्रक्रियागत हिसाबले राम्रो मान्दैनौं। नियमित विधेयकबाट आएको भए त्यसको अपनत्व सांसदहरूले लिन्थे, छलफल पनि हुन्थ्यो । तर सरकारले अति आवश्यक देखेको हुनाले अध्यादेश आयो, त्यसैले सरकारलाई एक प्रकारको सचेत गराउँदै भविष्यमा अध्यादेशबाट मात्रै सञ्चालन गर्ने प्रवृत्ति बढवा नहोस् भनेर निरूत्साहित गर्नुपर्छ,’ उनले भने ।

सरकारले सहकारीसहित जारी भएका ६ वटा अध्यादेश सदनमा पेस गरेको छ । ‘केही अध्यादेशबारे सकारात्मक रूपमा बहस चल्यो, त्यसमा सामान्य संशोधन गरेर अगाडि बढ्न सक्ने स्थिति छ,’ उनले भने, ‘केही अध्यादेशमा हाम्रो गम्भीर आपत्ति पनि छ । कार्यदल निष्कर्षमा पुगेर पार्टीमा बुझाउँछौं, पार्टीलाई सुझाव दिन्छौं ।’ जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशका केही प्रावधानमा असहमति जनाएको छ । अध्यादेश के गर्ने भनेर ठ्याक्कै कार्यदलले भन्न नसक्ने र पार्टीले निर्णय गर्ने उनले बताएका छन् । प्रतिनिधि सभामा कांग्रेस र एमालेको आरामदायी बहुमत भए पनि राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्न तीन जना सांसद भएको जसपा नेपालको साथ चाहिन्छ । 

अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन् । तर जसपा नेपालका सांसदहरूले दुवै सदनमा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिएनन् । जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर अध्यादेश स्वीकृत गर्ने पक्षमा सहयोग गरिदिन यसअघि नै आग्रह गरिसकेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७