अमेरिकाले ठूलो संख्यामा अवैध भारतीय आप्रवासीलाई सैन्य विमानबाट फर्कायो
काठमाडौं । अमेरिकाले एक सय बढी भारतीय नागरिकलाई निष्कासन गरेको छ । अमेरिकी सेनाको विमानबाट उनीहरूलाई भारतमै ल्याइपुर्याएको बीबीसीले जनाएको छ ।
मंगलबार राति अमेरिकाको टेक्सासबाट उडेको उक्त विमान पञ्जाबको अमृतसरस्थित रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । गैरकानुनी तरिकाले अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरी भारत ल्याइपुर्याएको हो । एक तथ्यांकअनुसार अमेरिकामा करिब १८ हजार भारतीयहरू गैरकानुनी तरिकाले बसोबास गर्दै आएका छन् ।
पञ्जाब सरकारले निष्कासनमा परेकारूलाई स्वागत गर्न छुट्टै डेस्कको स्थापना गरेको थियो । त्यहाँका अधिकारीहरूले निष्कासनमा परेका भारतीयहरूसँग मैत्रीपूर्ण व्यवहार गरेको जनाएको छ । उक्त विमानमा १०४ जना भारतीय नागरिकहरू रहेको पञ्जाब सरकारले जानकारी दिएको छ । जसमा पञ्जाबसहित हरियाणा, चण्डीगढ, उत्तर प्रदेश, गुजराजलगायतका राज्यका नागरिकहरू रहेका छन् । उनीहरूलाई नियमित बसबाट सम्बन्धित जिल्लामा पठाइको प्रहरीले जानकारी दिएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएसँगै आप्रवासी नीतिलाई कडाइ गरेका थिए । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गरिरहेको छ । ठूलो संख्यामा रहेका आप्रवासीहरूलाई सैन्य विमानबाटै डीपोर्ट गर्ने गरिएको ट्रम्प प्रशासनले जानकारी दिएको छ ।
गैरकानुनी तरिकाले अमेरिका बसोबास गर्ने भारतीय नागरिकहरू यसअघि पनि निष्कासनमा पर्दै आएका थिए । सन् २०२४ मा एक हजार बढी भारतीय नागरिकलाई अमेरिकाले निष्कासन गरेको थियो । उनीहरूलाई चार्टड र व्यवसायीक उडानबाट भारत पुर्याइएको अमेरिकी अध्यागमनले जानकारी दिएको छ । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई)ले सन् २०१८ देखि २०२३ सम्म ५ हजार ४७७ जना भारतीय नागरिकलाई निष्कासन गरेको बीबीसीले जनाएको छ । अमेरिकामा गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीमध्ये भारत मेक्सिको र साल्भाडोरपछि तेस्रो ठूलो रहेको छ ।
अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच–१बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन्। सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच–१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए। अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच–१बी भिसा देला भन्ने भारतको आशा छ।