भैरहवाको सिमा क्षेत्रमा प्रहरीको घुमुवा आतंक 


२०८१ भदौ ३१ सोमबार ०७:०२ बजे

काठमाडौं :  प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले आफ्नो हरेक भाषणमा सिमाको तस्करी रोक्ने दाबी गर्दै आएका छन् । तर अभ्यास भने ठिक विपरित छ । आफूलाई आईजीपी कुँवर निकट दाबी गर्ने घुमुवाहरुले सिमा क्षेत्रमा आतंक नै मच्चाएको भन्दै उजुरी परेको छ ।

आईजीपी कुँवरकै निकट आफूलाई दाबी गर्ने सहायक निरीक्षक मधुसुदन बञ्जाडे पाँच बर्षदेखि भैरहवामा छन् । गुल्मी जिप्रका दरबन्दी रहेका उनी जिल्ला ट्राफिक कार्यालयअन्तर्गतका पोष्टहरूमा होइन, सडकमा खटिन्छन् । 
काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयमा दरबन्दी रहेका हवल्दार पदम भण्डारी पनि चार–पाँच बर्षदेखि भैरहवा ट्राफिकमै छन् । बेलहिया बाइपासमा भारतीय सवारी साधनसँग पैसा उठाएको भन्दै उनी विरुद्ध उजुरी परेको छ । 

ट्राफिकमा तालिम प्राप्त प्रहरी हुन्छन् । तर कुनै तालिम नलिए पनि ट्राफिकको जागिर खाने भैरहवामा थुप्रै छन् । सहायक हवल्दार नरेन्द्र केसी, हवल्दार ढुण्डिराज खनाल, सहायक हवल्दार विक्रम कुँवर, देवेन्द्र पचभैया, नारायण घर्ती यस्तै पात्र हुन् । यीमध्ये केसीको वडा प्रहरी भैरहवा, खनालको सुदूर पश्चिम, कुँवरको भैरहवा कारागार र घर्तीको नवलपरासी दरबन्दी छ । काजमा सीमा क्षेत्रमा खटिएर भारतबाट भित्रिने ओभरलोड गाडीबाट पैसा उठाएको उजुरी छ । 

ट्राफिक प्रहरीले भारतीय मालबाहक ट्रक, रूपन्देही तथा नवलपरासीस्थित उद्योगहरूमा कच्चा पदार्थ ओसार्ने ट्रक, गिट्टी, बालुवा बोक्ने टिप्परसँग नियमित रकम बटुल्दै आएको छ । बेलहिया बाइबास, बेथरी र भलवारी क्षेत्रमा नियमित रकम उठाउने गरिन्छ । टिप्परलाई भने महिनावारी दुई हजार बुझाउनुपर्ने रेट रहेको उजुरी परेको छ । 

जिल्लाभित्रका टायल, मार्बल, छड, सिमेन्ट पसल तथा उद्योगहरूसँग महिनावारी असुल्ने गरिएको पनि ती प्रहरीले जानकारी दिए । जिल्ला बाहिर जाने गाडीको रसिद काटी जरिवाना असुल्ने र जिल्लाभित्र अनलोड हुनेसँग पैसा लिएर छाड्ने गरिएको बताइन्छ । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा छ । त्यहाँका प्रमुख एसपी श्यामबहादुर खत्री हालै निजी कामले भारतको नौतनवा गएका थिए । फर्कंदा साँझपख भैरहवाको आँखा अस्पतालनेर (–१) वटा भारतीय ओभरलोड ट्रक रोखिराखेको देखे । प्रति ट्रक २ हजार भारु लिएको तर रसिद नकाटेको पाए । त्यसमा संलग्न एक हवल्दारसहित पाँच प्रहरीमाथि कार्वाही प्रकृया अघि बढाए । तर भोलिपल्टै एक लाख बुझेपछि घटना सामसुम भएको छ । 

बेलहियाबाट छिरेका भारतीय सवारीहरूलाई प्रत्येक गौंडामा ढुकेर रकम असुल्ने काम मात्र भएको भन्दै आइजिपी कुँवरकै सामुन्ने सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खाँनले कुरा उठाए । मेयरको कुरालाई गम्भिरतापूर्वक लिंदै कुँवरले एक से एक प्रहरी निरीक्षकले किन तराईका चौकी रोज्छन् भन्ने कुरा आफूले बुझेकोले अब सुधार्ने प्रतिवद्धता सार्वजनिक रूपमै जनाएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७