परराष्ट्रमन्त्री डा. राणा क्यानाडा प्रस्थान


२०८१ भदौ ३१ सोमबार ०६:५० बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरे । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम रहेको छ ।

सो सम्मेलनमा परराष्ट्रमन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्नेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ । अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछिन् ।

मन्त्री डा. राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गर्नेछिन् । मन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने छिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७