माओवादी बिनाको संविधान संशोधन बेइमानी र जालझेल, सम्भव पनि छैन : अध्यक्ष प्रचण्ड

‘भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदल्नु पर्छ’


२०८१ असोज ५ शनिबार १८:३४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अबका एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको बताएका छन् । उनले सत्तारुढ दलहरूले संविधान संशोधनको मुद्दा उठाइरहेको भन्दै यदि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

आज (शनिबार) अखिल नेपाल ट्रेड यूनियन महासंघले काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने दाबी गरे । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति, नोकरशाह र माफियाहरुलाई नपचेको उनको आरोप छ ।

उनले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको भन्दै त्यस्तो हुन नदिने बताए । ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमति विना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमति विना संविधान संशोधन गर्ने उनीहरुलाई राजनीतिक र नैतिक दुवै अधिकार छैन ।’

इमान्दरिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार रहेको समेत बताए । ‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ,’ उनले भने, ‘हामीले संविधान निर्माण गर्दा प्रष्टरुपमा हाम्रो एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौं भनेर नोट अफ डिसेन्ट लेखेका छौं । अब हामी यो एजेण्डालाई लिएर अगाडि बढ्छौं ।’

‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ अध्यक्ष प्रचण्डले थपे, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले हाम्रो भनाई के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनु पर्छ ।’ अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु रहेको बताएका छन् ।

उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस–एमाले मिलेको आरोप लगाए । उनले भने, ‘सबै प्रयासहरुमा उनीहरु असफल भएका छन्, एउटा काम पनि फत्ते गर्न सकेका छैनन् । प्रत्येकमा हामी प्रतिपक्षमा भए पनि एकपछि अर्को सफलता हासिल गर्दै गएका छौं । केही समयभित्रै यो गठबन्धन आफैं कुहिएर झर्नेछ र हामी फेरि नयाँ ढंगबाट जाने विश्वास लिएका छौं ।’ अध्यक्ष प्रचण्डले उपसभामुखलाई हटाउन धेरै प्रपञ्च भए पनि असफल भएको दाबी गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७