कीर्तिपुरका माओवादी केन्द्रका मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस्’


२०८१ कार्तिक २८ बुधबार १२:५५ बजे

काठमाडौं । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर तथा दुई वडाको वडाध्यक्षको घोषणा गरेको छ । आज (बुधबार) बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा माओवादीले उम्मेदवार घोषणा गरेको हो। माओवादी केन्द्रले मेयर पदमा प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

माओवादीले कीर्तिपुर नगरपालिका वडा नम्बर–१ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर–४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरमा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । राप्रपाले मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि सरसफाई अभियानकर्ता राजमान मानन्धरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसले भने मेयर पदका लागि उम्मेदवार टुंगो लगाउन बाँकी छ । कांग्रेसले नगर समितिका सभापति कृष्णमान डंगोलसहित ११ जनाको नाम सिफारिस गरेको छ । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस्।’ अन्य दलभन्दा माओवादी फरक शक्ति भएको र सरकारमा भएको बेला माओवादीले हरेक पटक रुपान्तरणकारी काम गरेको उनको भनाइ छ ।

पछिल्लो समय सुशासन,सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर, गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान उनले आग्रह गरे ।

‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘अब मुख्य कुरा हामी आफै पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ ।’ 

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै उनले थपे, ‘यहाँको इतिहास, वीरता र बिद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्नेछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७