परराष्ट्रमन्त्री राणा डडेल्धुरा जाँदै, फूलमालासहित स्वागत गर्न कांग्रेसको ‘उर्दी’
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । परराष्ट्रमन्त्री देउवा आउने भएपछि नेपाली कांग्रेस डडेल्धुराले फूलमालासहित स्वागत गर्न नेता–कार्यकर्तालाई उर्दी जारी गरेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद समेत रहेकी राणा शुक्रबार अपराह्न डडेल्धुरा जाने कार्यक्रम छ ।
पार्टी सभापति भीमबहादुर साउदले बुधबार एक विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता–कार्यकर्ताहरूलाई उर्दी गरेका हुन् । सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन् ।
क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरू लगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन सभापति साउदको उर्दी छ । सभापति साउदले महासमिति सदस्यदेखि क्रियाशील सदस्य र उद्योगी व्यापारीलाई पनि परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित हुन भनेपछि कांग्रेसकै केही नेता–कार्यकर्ताहरूले भने असन्तुष्टि जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि केही दिनदेखि गृह जिल्ला डडेल्धुरामै छन् ।