सुदूरपश्चिममा बढ्यो उपनिर्वाचनको सरगर्मी : कुन पार्टीबाट को–को उम्मेदवार ?


२०८१ कार्तिक २९ बिहीबार ०३:५७ बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन दलहरू लागेका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्यसमितिले रिक्त रहेको जिल्ला समन्वय समिति कैलालीको संयोजकमा टीका चौधरी भुललाई सिफारिस गरी प्रदेश समितिमा पठाएको छ । उनी कैलारी गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुन् । 

 नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत दलहरूले जिसस संयोजकमा आफ्ना प्रत्यासी उठाउने-नउठाउनेबारेमा आजसम्म टुङ्गोमा पुग्न सकेका छैनन् । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय भइसकेको जानकारी दिए । उनले भने, ‘यसअघि पार्टीले केशवराज पन्तलाई जिससको संयोजकमा प्रत्यासी बनाउने निर्णय गरेकामा निर्वाचन आयोगको परिपत्रबमोजिम महिलालाई प्रत्यासी बनाउनुपर्ने भएपछि चौधरीको नाम सिफारिस भएको हो । यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ ।’

कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापरका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएपछि पद रिक्त भएको थियो । कांग्रेसले रिक्त भीमदत्त नगरपालिका–६ मा प्रकाशबहादुर चन्द, डोटी पूर्वीचौकी गाउँपालिका–६ मा मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका–५ मा धनबहादुर कुँवरलाई वडध्यक्षको प्रत्यासी बनाउने निर्णय गरेको छ । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा भने निर्णय हुन बाँकी रहेको रावतले बताए । 

एमालेका प्रदेश कमिटी सचिव रणबहादुर चन्दले स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा, भीमदत्तनगर–६ मा बहादुर चन्द, पूर्वीचौकी–६ मा देवबहादुर थापा र दुहु–५ मा मानबहादुर बडाललाई पार्टीले प्रत्यासी बनाएको जानकारी दिए । उनले भने, ‘जिल्ला समन्वय समितिको संयोजक र सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदको हकमा छलफल भइरहेकाले निर्णय हुन बाँकी छ ।’ 

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव जनक बुढाले पार्टीले स्वामीकात्तिकखापरको उपाध्यक्षमा राजकुमारी विक रचना, सुर्मा–४ मा पुष्करबहादुर बोहरा, पूर्वीचौकी–६ मा देवीलाल थापा, दुहु–५ मा वीरसिंह कार्की र भीमदत्तनगर–६ को वडाध्यक्षमा नानाराम कोलीलाई प्रत्यासी बनाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समितिको संयोजक पदमा कसलाई उठाउने वन नउठाउने छलफल भइरहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वामीकात्तिकखपरमा सुनादेवी थापाभोटेधामीलाई उठाउने निर्णय गरेको सो पार्टीका छत्र शाहीले बताए । रिक्त वडाध्यक्ष पदका प्रत्यासीका बारेमा छलफल भइरहेको उनले उल्लेख गरे । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम विभिन्न कारणले रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सङ्घीय सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा रिक्तस्थानमा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७