नेपाली युवा टोलीले जित्यो कर्नाटकसँगको पाँच खेलको श्रृङ्खला
काठमाडौं । नेपाल यू–१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू–१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको पाँच खेलको श्रृंखला (सिरिज) को अन्तिम खेल सात विकेटले जितेको छ । १९२ रनको मध्यम लक्ष्य पाएको नेपालले ४० औं ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । अन्तिम खेलमा विजयी भएसँगै नेपालले पाँच खेलमा तीन खेल जित्दै सिरिजसमेत जितेको छ ।
नेपालको जितका लागि दुई जना ब्याट्सम्यानले अर्धशतक बनाए । ओपनर आकाश त्रिपाठी र मयन यादवले अर्धशतकीय पारी खेलेका हुन् । आकाशले नटआउट ८१ रन बनाउँदा मयनले ५० रन जोडे । यस्तै अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादव ४ रन बनाए । कर्नाटकका लागि प्रणव अश्वशले २ तथा तेजसले एक विकेट लिए । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो । टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे ।
अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए । त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २–२ विकेट लिए । पहिलो खेल जितेको कर्नाटकले दोस्रो र तेस्रोमा हार व्यहोरेको थियो । चौथो जिते पनि पाँचौंमा हार्दै सिरिज पनि कर्नाटकले गुमाएको हो ।