भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन
काठमाडौं । भोलि (शुक्रबार) काठमाडौंको तीन ठाउँमा एकै समय प्रदर्शनका कार्यक्रम हुने भएका छन् । भोलि विभिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही अनुसार सुरक्षाको योजना बनाइरहेको छ ।
सत्तारुढ नेकपा एमालेले शुक्रबार जागरण सभा गर्दैछ । एमालेले र्याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ । एमालेले भोलि एक लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।
त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि भोलि (शुक्रबार) प्रदर्शन गर्दैछ । प्रसाईं अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन् । तर उनको पूर्व निर्धारित प्रदर्शन भने नरोकिने बताइएको छ । प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।
माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् । काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुने उनले बताएका छन् । ‘ट्राफिक जाम त हुन्छ । तर त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले हामीले योजना बनाएका छौं,’ उनले भने ।