बीआरआईबारे झलनाथ खनाल : पश्चिमा कुप्रचारका कारण ‘ऋण पासो’ का रुपमा व्याख्या गरियो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालका सरकारहरु चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) विरोधी कुप्रचारको शिकार भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै खनालले पश्चिमा कुप्रचारका कारण बीआरआई सहयोगलाई ‘ऋण पासो’ का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड भइरहेको बताएका छन् ।
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ एउटा विश्वव्यापी अवधारणा र परियोजना बनिसकेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘तर फेरि पनि वीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलबीच वहस भइरहनु र ठोस निणर्य गर्न नसक्नु मुलुककै निम्ति विडम्वना बन्न पुगेको छ । त्यहि वीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने, तर नेपालको निम्ति ‘ऋण पासो’ कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरुको निर्देशनमा चल्छन ?’
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा बिआरआईलगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य विषयमा सम्झौता होस् भन्ने जनताले आशा राखेको भन्दै खनालले भूराजनीतिको ‘पासो’ मा नफसी अन्तराष्ट्रिय सम्वन्धलाई नेपाली बुद्धिले नै हेर्न आग्रह गरेका छन् । ‘चीनसँगको सहयोग र सम्बन्ध नेपालको विश्वसँगको सहयोग र सम्बन्धको अभिन्न अङ्ग हो । हरेक देशसँग हाम्रा सम्बन्धका विशिष्ट आयामहरु हुन्छन् । अरु देश वा शक्तिले के भन्छन् भनेर होइन, हामीले हाम्रो देशको राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनै पनि देशसंगका सम्बन्धलाई र सहयोगलाई अघि बढाउन सक्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ ।