अगुवाको इतिहास लेख्दै एमाले
विराटनगर । कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गरिने भएको छ । बिहीबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्नेलगायतका विभिन्न निर्णयहरु गरेको छ ।
कम्युनिष्ट पार्टी स्थापनापछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरी दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराए ।
कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्युनतम ३ जना त्यस्ता ज्येष्ठ अगुवाहरुको इतिहासको दस्तावेजीकरण गरी न्युनतम ५० जना अग्रजहरुका इतिहास समेट्ने गरी प्रचार विभागका उपप्रमुख भीमज्वाला राईको नेतृत्वमा टिम निर्माण गरिएको हो । उक्त टिममा सदस्यहरु मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सुमन पूरी, अविजाल विष्ट र हरीबोल आचार्य रहेका छन् ।
बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गर्न प्रेस चौतारी नेपालले प्रभावकारी भूमिका खेल्ने र श्रमजीवि पत्रकारहरुको हितका लागि निर्माण भएको गठबन्धनको नेतृत्वलाई जिताउन र साझा सहमतिका आधारमा उम्मेद्वारहरु जिल्लाहरुको टुंगो लगाउन चौतारीले पेशागत चरित्रका आधारमा खेल्ने निर्णय गरेको छ ।
बैठकले सबै जिल्लामा प्रेस चौतारी नेपाल, प्रचार विभाग र पार्टीको कामलाई प्रभावकारी बनाउने उद्देश्यले प्रचार विभागहरुलाई १४ वटै जिल्लाहरुमा फोकल पर्सनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेशमा रहेका सञ्चार गृहहरुलाई संरक्षण र व्यवस्थापन हेतुले प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको संयोजकत्वमा विवरण संकलन र सहयोग कार्यदल गठन गरेको छ ।
त्यस्तै पार्टीको मुखपत्र रातो झण्डा प्रत्येक ६ महिनामा प्रकाशन गर्नेगरी प्रचार विभागका सचिव यज्ञ शर्माको नेतृत्वमा सम्पादन मण्डलको गठन गरिएको छ । उक्त सम्पादन मण्डलमा देवेन्द्र कार्की र गोपाल काफ्ले रहेका छन् । त्यस्तै पार्टीको तर्फबाट सञ्चालन गरिने सञ्चार गृहको सम्भाव्यता अध्ययनका लागि अग्रज पत्रकार तथा प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेको नेतृत्वमा सुमन पुरी, गोपाल काफ्ले, नेत्र पी अधिकारी र रेनुका राई रहेको कार्यदल गठन गरेको छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकको अध्यक्षता प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले गरेका थिए । बैठकमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराई, चौतारी इन्चार्ज गणेश पोखरेलको समेत उपस्थिति थियो ।