दुनै–लासिक्याप सडक ट्रयाक निर्माण तीव्र


२०८१ पौष ७ आइतबार १६:४४ बजे
फाइल फोटो

सुर्खेत । डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ । भेरी करिडोर सडक आयोजनाअन्तर्गत सदरमुकाम दुनैसम्म यातायात सञ्चालन भए पनि सो भन्दा माथिल्लो भेगमा सडक सुविधा छैन । दुनै–लासिक्याप सडक निर्माण सुरु भएसँगै सो भन्दा माथिल्लो भेगमा नेपाली सेनाले काम गर्ने छ । हाल २५ किलोमिटर सडकखण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । 

लासिक्याप–मरिमको लम्बाइ ७५ किलोमिटर छ । उक्त ठाउँमा नेपाली सेनाले ४० किलोमिटर ट्रयाक निर्माण पहिले गरिसकेको आयोजना प्रमुख रञ्जितकारले बताए । दुनैबाट लासिक्याप २५ किलोमिटर छभने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ । २०८२ पुस १६ गते निर्माण पूरा गर्ने गरी सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौँले २०७८ चैत १७ गते रु १३ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहनमा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भएमा सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक विसं २०६५ मा निर्माण सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त एक सय १८ किलोमिटर सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

दुनैबाट मरिम नाकासम्मको एक सय किलोमिटरमध्ये नेपालतर्फको ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ । जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा छ । माथिल्लो डोल्पाका तीन गाउँपालिकाका जनताले नेपालतर्फ सडक सुविधा नहुँदा अझै सरकारी कामकाजका लागि सदरमुकाम दुनै आउन एक साता पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक निर्माणमा ढिलाइ भएको काइके गाउँपालिकाका अध्यक्ष अङ्कद रानाले गुनासो गरे । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७