क्यान्सरसँग हारे विवेक : एक्लिइन् सिर्जना, उजाडियो सिउँदो


२०८१ पौष ४ बिहीबार २३:०७ बजे

काठमाडौं । विवेक पंगेनी र सिर्जना पंगेनी सामाजिक सञ्जालमा सबैले चिनेको नाम हो । विशेष गरी टिकटकको माध्यमबाट उनीहरुलाई धेरैले चिनेका छन् । अमेरिकामा रहेर विवेक ब्रेन क्यान्सरसँग जुधिरहेका थिए भने सिर्जना श्रीमानलाई नयाँ जीवन दिन जिउ ज्यान दिएर स्याहारमा खटिएकी थिइन् ।

तर दैवको अगाडि सिर्जनाको केही लागेन । विवेकको निधन भएको छ । विवेकको हिजो अमेरिकामा निधन भएको हो। विवेकका भाइ मिनराजको चार महिनाअघि मात्रै सडक दुर्घटनामा ज्यान गएको थियो । चार महिनाको अन्तरालमा दाजुभाइले संसार छाडेका छन् । विवेकलाई नयाँ जीवन दिन सिर्जनाले गरेको त्यागको सबैले चर्चा र प्रशंसा गर्ने गरेका छन् । श्रीमानको अवस्थाबारे पूर्ण जानकार सिर्जनाले मनमा जति पीडा भए पनि सधैँ बिरामी श्रीमानलाई खुशी पारिरहिन्, रोगसँग लड्न हौस्याई रहिन् । उनले श्रीमानसँगका भिडिओहरू सामाजिक सञ्जालमा पनि पोष्ट गरिरहन्थिन्।

बर्दियाको बढैयाताल गाउँपालिका– ५ राजपुरका विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई पूर्ण छात्रवृत्तिमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै आमाको निधन भएपछि उनी नेपाल फर्किए । आमाको काजक्रिया सकेर फर्किन लाग्दा उनलाई पनि ब्रेन क्यान्सर रहेको पत्ता लागेको थियो । त्यो पनि चौंथो चरणको। ब्रेन क्यान्सर रहेको पत्ता लागेपछि विवेक श्रीमती सिर्जनालाई लिएर अमेरिका उडे र उतै उपचार गराउँदै आएका थिए । उनको उपचारका लागि विश्वभर रहेका नेपालीले करोडौं सहयोग समेत गरेका थिए ।

सिर्जनाले श्रीमान विवेकको अवस्थाबारे टिकटकलगायतका सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकलाई निरन्तर जानकारी गराउँदै आएकी थिइन् । केही दिनअघि श्रीमानको अवस्था गम्भीर बनेपछि सिर्जनाले नेपालमा रहेका ससुरालाई अमेरिकामा बोलाएकी थिइन् । सिर्जनाका ससुरा अमेरिका पुगिसकेका छन् । परिवार अहिले विवेकको शव नेपाल ल्याउने-नल्याउनेमा टुंगोमा पुगिसकेको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७