केहि दिनमै संविधान संशोधनका लागि कांग्रेस–एमालेको संयन्त्र बन्छ : गगन थापा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताएका छन् । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनु पर्ने बताएका छन् ।
‘२०८४ को चुनाव छ । २०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । मैले यो यो गरेँ भनेर अर्को चुनावमा भन्न जान्छ । सरकारभन्दा बाहिर बसेको पार्टीले म भएको भए तिमी भन्दा राम्रो गर्थें भन्छ वा म आउँदै गर्दा अब विकल्पमा यो गर्छु भन्छ,’ उनले भने, ’तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ ।’
उनले अहिलेसम्म निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिने गरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको सुरुवात गर्न आवश्यक भएको जिकिर गरे । नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रूपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरूबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताए ।
महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताएका छन् । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरू देखिने गरी काम गर्ने दाबी गरे । उनले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन्। सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए ।
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ,’ उनले भने, ‘केही दिनभित्रमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौं । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर कांग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनु पर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं ।’