आरोही पूर्णिमा श्रेष्ठ सीएनएन सूचीमा
काठमाडौं । अमेरिकाको समाचार संस्था सीएनएनले नेपाली पत्रकार तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठलाई सन् २०२४ को एथलिट सूचीमा समावेश गरेको छ । सीएनएनले श्रेष्ठलाई १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरेको भन्दै एथलिट सूचीमा राखेको हो ।
पहिलो पटक सन् २०१८ मा सगरमाथा आरोहण गरेकी पूर्णिमाले त्यसअघि धवलागिरी र पाकिस्तानको के टु हिमाल पनि आरोहण गरिसकेकी छिन् । सगरमाथा आरोहणको कीर्तिमान राखेकै कारण पूर्णिमा सीएनएनको पसूचीमा परेकी हुन् । उनी भन्छिन्, ‘सगरमाथा आरोहण गर्दा लागेको ऋण अझै सबै तिर्नसकेकी छैन । अझै ऋण चुक्ता गर्दैछु ।’ यद्यपि सीएनएनको सूचीमा पर्दा भने खुशी भएको उनले सुनाइन् ।
८ हजार मिटर अग्ला संसारका १४ वटा हिमाल आरोहण गर्ने सपना भए पनि आर्थिक अभावका कारण सपना पूरा नहुने हो कि भनेर चिन्ता गर्छिन्, श्रेष्ठ । उनले सुनाइन््, ‘८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने सपना त छ, तर, हिमाल चढ्न टन्नै पैसा चाहिन्छ ।’
उनका अनुसार एक पटक सगरमाथा आरोहण गर्न न्यूनतम २० लाख रुपैयाँ खर्च हुन्छ । हिमाल आरोहणको खर्च जोहो भएमा सन् २०२५ मा नाङ्गा पर्वत आरोहण गर्ने योजना रहेको उनले सुनाइन् । ‘स्पोन्सर मिलेमा म यसपटक नांगा पर्वत आरोहण गर्न जाऊँ कि भन्ने सोच छ’, उनले भनिन् । पाकिस्तानमा अवस्थित ८ हजार १ सय २६ मिटर अग्लो नांगा पर्वत विश्वको नवौँ अग्लो हिमाल हो ।