‘प्रहरी हौं भन्दै किशोरी अपहरण गरेको आरोपमा दुई युवक पक्राउ


०३:५३ बजे

धनगढी । कञ्चनपुरमा ‘प्रहरी हौं’ भन्दै किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । शनिबार राति १२ बजे भीमदत्त नगरपालिका–६ को शिव मन्दिर नजिकै नहरमा साथीसँग हिंडिरहेको अवस्थामा १६ वर्षीया किशोरीलाई अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चानपुरका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेश सिंह खत्री र ३३ वर्षीय धुर्व जोशी रहेका छन् ।  उनीहरु दुवै जनाले ‘हामी प्रहरी हौं’ भन्दै किशोरीलाई मोटरसाइकलमा राखेर अपहरण गरेको  प्रहरीको आरोप छ । १३ गते साँझ करिब ७ः३० बजे किशोरी शिव मन्दिर नजिकै नहरमा साथीसँग हिँडिरहेकी थिइन् ।

‘हामी पुलिस हौं, यति बेला कहाँ हो, पुलिस चौकी लैजान्छौँ’ भन्दै किशोरीलाई बा.५५.प. ९६१३ नम्बर मोटरसाइकलको बीचमा राखेर दुई युवकले हुइँकाए । केही घण्टासम्म मोटरसाइकलमै रहेर दुई युवकले किशोरीलाई बजार परिक्रमा गराएका थिए । त्यसपछि महेश खत्रीको कटेजमा लगे । ७ः३० किशोरी अपहरणमा परेको घटनाबारे प्रहरीले राति करिब १२ बजे मात्रै थाहा पाएको थियो ।

प्रहरीले आइतबार बिहान मात्र किशोरीलाई भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरेको थियो । दुवै जनाले किशोरी अपहरण गर्न प्रयोग गरेको बा.५५.प. ९६१३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा जिल्ला अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती युवकहरू र किशोरीबीच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७