भेपमार्फत सुन तस्करी प्रकरण : भन्सारका नासुसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


०२:११ बजे
फाइल फोटो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको नौं किलो सुन तस्करी प्रकरणमा भन्सारका नायव सुब्बासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सो प्रकरणमा मुछिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरी हदैसम्मको सजाय माग गरी मुद्दा दर्ता गरिएको हो ।

यसअघि उनीहरूविरुद्ध सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । गत १६ भदौमा यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो ।

यस्तै वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो । राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो । भेपमार्फत् आएको सुन बेचेर जग्गा खरिद गरेको खुलेपछि उक्त जग्गा जफतको फैसला भएको थियो ।

फ्लाई दुबईको जहाजमार्फत् १० पुस २०७९ मा चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेशमा राखेर भेपभित्र लुकाएर सुन ल्याएका थिए । सुनले भरिएको उक्त सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । त्यतिबेला भेपमा सुन भए-नभएको यकिन हुन बाँकी नै थियो । भन्सारले पासपोर्ट समेत लिएर चिनियाँ नागरिक होसाङलाई छाड्यो । भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट लिएर स्वदेश फर्किए । पछि एकाएक उक्त भेप गायव पारेर बेचेको खुलेपछि सुन तस्करीको रहस्य बाहिरिएको थियो । त्यसपछि सीआईबीले यसको अनुसन्धान गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७