ताप्लेजुङ र संखुवासभाको उच्च भू–भागमा हिमपात
काठमाडौं । ताप्लेजुङ र संखुवासभाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ। पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालले जानकारी दिए ।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने केही राहत पुग्ने किसानले बताएका छन् ।
केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । त्यसैगरी संखुवासभामा पनि हिमपात भएको छ । चैनपुर नगरपालिका १ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरी क्षेत्रमा हिमपात हुँदा सेताम्मे देखिएको छ । जिल्लाको गुफा, मङ्गलबारे, किमाथाङ्का लगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो । रासस