मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक


२०८१ माघ १ मंगलबार २१:१४ बजे

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् ।जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउने संक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसंख्यक छन्त्याल समुदायले माघे संक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।  

साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर संघका सचिव खम थापामगरले बताए । ‘माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ’, उनले भने, ‘प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।’

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। मगर बस्तीमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको संघका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे संक्रान्तिमा माइतीघर जान्छन् । 

यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे संक्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुुराएको बताए । माघे संक्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे संक्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् ।

जिल्ला उद्योग वाणिज्य संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे संक्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो’,  ८० वर्षीय श्रेष्ठले भने, ‘युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।’

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उनले बताए । हरेक तीन-तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य संघले जनाएको छ । संघअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।

यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु भएको हो । परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७